कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्ड सञ्चालनमा आएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशको आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार यसअघि ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदा ओभरलोड, पटक–पटक बत्ती जाने र लो–भोल्टेजको समस्या थियो, जुन अब उल्लेख्य रूपमा सुधार हुनेछ ।

प्रसारण लाइन सञ्चालनपछि कर्णाली प्रदेशमा ठूला उद्योगधन्दा स्थापना हुने र उद्योग क्षेत्रमा विद्युत् खपत बढ्ने उहाँले बताउनुभयो । यसले रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

पुसको तेस्रो साता स्थलगत अवलोकनका क्रममा कार्यकारी निर्देशक शाक्यले आयोजनाको काम छिटो सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको थियो । आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार करिब ५२ किलोमिटर लामो कोहलपुर–सुर्खेत खण्डको काम निर्धारित जिम्मेवारीअनुसार समयमै सम्पन्न गरिएको हो ।

अब दोस्रो खण्डअन्तर्गतको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम पनि तीव्र गतिमा अघि बढाइने आयोजनाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्