काठमाडौं – हिजो सामान्य अंकले बढेको शेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १७ दशमलव ५३ अंकले घटेर २ हजार ७ सय १४ दशमलव ०५ विन्दुमा झरेको छ। आजको कारोबारमा जलविद्युत्, लगानी र म्युचुअल फन्ड समूहबाहेक सबै समूहका शेयर घटेका छन्। विशेषगरी विकास बैंक र उत्पादनमूलक समूहको शेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ।
कुल कारोबार भएका कम्पनीहरूमध्ये १७० वटा कम्पनीको शेयर घटेको, ८५ वटा कम्पनीको बढेको र ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ। बजार समग्रमा घटेको दिन पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ९ दशमलव २३ प्रतिशतले बढेको छ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। हिजो ११ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका ३ करोड ५४ लाख कित्ता शेयर १४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएका छन्।







