काठमाडौँ – हुस्सु र कुहिरो हट्न थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान तथा अवतरण पुनः सुरु भएको छ। विमानस्थल कार्यालयका अनुसार यसअघि आकाशमा होल्ड गरिरहेका जहाजलाई प्राथमिकता दिँदै अवतरण गराइएको छ।
बाक्लो हुस्सु र कुहिरोका कारण धावनमार्ग स्पष्ट देखिन नसक्दा विभिन्न देशबाट आएका विमान आकाशमै घुमिरहेका थिए। साथै देशका विभिन्न शहर तथा विदेशका गन्तव्यतर्फ हुने उडानहरू अस्थायी रूपमा रोकिएका थिए।
हुस्सुका कारण भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरूमा आज बिहानका उडान हुन सकेका थिएनन्।
हाल मौसममा सुधार आएसँगै सबै उडान तथा अवतरण क्रमशः नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ।







