कोलम्बियाको उत्तरी क्षेत्रमा यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको ज्यान गएको छ। कोलम्बियाको सरकारी स्वामित्वको विमान सेवा कम्पनी साटेना (Satena) ले दुर्घटनाको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
साटेनाका अनुसार बीचक्राफ्ट १९०० मोडेलको उक्त विमान दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
बीबीसीका अनुसार दुर्घटनाग्रस्त विमानको भग्नावशेष पहाडी क्षेत्रमा फेला परेको छ। विमानमा १३ जना यात्रु र २ जना चालक दलका सदस्य सवार थिए।
समाचारअनुसार यात्रुहरूमध्ये सांसद डिओजेनेस क्विन्टेरो अमाया र आगामी संसदीय चुनावका उम्मेदवार कार्लोस साल्सेडो पनि रहेका थिए।







