काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेका राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई पक्षबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारको नेतृत्वमा आउनुपरेको उल्लेख गर्दै मुलुक क्रमशः सामान्य अवस्थामा फर्किंदै गएको र अब निर्वाचनतर्फ अग्रसर भइरहेको बताउनुभयो। उहाँले नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभयो। त्यस अवसरमा राजदूत मियोसले नेपालले प्रथम महिला प्रधानमन्त्री पाएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा आगामी निर्वाचन निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
राजदूत मियोसले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु परिवर्तन तथा दिगो विकासका क्षेत्रमा नर्वेले निरन्तर सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि यो सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो।







