काठमाडौँ । आईसीसी टी-२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार दीपेन्द्र दुई स्थान सुधार गर्दै छैटौँ स्थानमा पुगेका हुन्। टी–२० अलराउन्डर वरीयतामा नेपालका अन्य खेलाडीमध्ये कुशल भुर्तेल २४औँ, रोहित पौडेल ४५औँ, गुल्सन झा ५१औँ, कुशल मल्ल ८९औँ र करण केसी ९९औँ स्थानमा रहेका छन्। यस वरीयताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा, दोस्रोमा पाकिस्तानका सइम अयुब र तेस्रोमा भारतका हार्दिक पान्ड्या छन्।
यस्तै, टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ७५औँ, रोहित पौडेल ७७औँ, आसिफ शेख ७८औँ र कुशल भुर्तेल ७९औँ स्थानमा छन्। ब्याटिङतर्फ भारतका अभिषेक शर्मा शीर्ष स्थानमा रहँदा दोस्रोमा इङ्ग्ल्यान्डका फिल साल्ट र तेस्रोमा भारतकै तिलक वर्मा छन्।
टी–२० बलिङ वरीयतामा नेपालका ललित राजवंशी ७५औँ, दीपेन्द्रसिंह ऐरी ७९औँ र सन्दीप लामिछाने ८३औँ स्थानमा छन्। बलिङ वरीयताको शीर्ष तीनमा भारतका वरुण चक्रवर्ती, अफगानिस्तानका राशिद खान र श्रीलङ्काका वानिन्दु हसरङ्गा रहेका छन्।
समग्र टी–२० टिम वरीयतामा नेपाल १७औँ स्थानमा यथावत् छ। पाकिस्तान एक स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएको छ भने वेस्ट इन्डिज एक स्थान तल झरेर सातौँ स्थानमा पुगेको छ। शीर्ष तीन स्थानमा भारत, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड यथावत् छन्।







