काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई व्यवस्थित रूपमा परिचालन गर्न देशभर सबै तहमा विभिन्न समिति र संरचना गठन गर्न परिपत्र गरेको छ। केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको ‘विजय अभियान’ प्रभावकारी बनाउन सातै प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई अविलम्ब समिति गठन गर्न निर्देशन दिएका हुन्।
बुधबार जारी परिपत्रमा एक दर्जनभन्दा बढी समितिहरूको नाम र जिम्मेवारी स्पष्ट रूपमा तोकिएको छ। परिपत्रअनुसार ५–७ सदस्यीय निर्वाचन व्यवस्थापन सचिवालय गठन गरी पार्टी कार्यालय, आन्तरिक व्यवस्थापनदेखि सार्वजनिक प्रस्तुतिसम्मका कार्यको समन्वय गर्ने व्यवस्था गरिएको छ। साथै निर्वाचन परिचालन मूल समिति गठन गरी त्यसअन्तर्गत सार्वजनिक कार्यक्रम, महिला, तरुण स्वयंसेवक, श्रमिक, कृषक, भ्रातृ संस्था र शुभेच्छुक संस्था समन्वय उपसमिति रहनेछन्।
त्यस्तै, केन्द्रीय प्रचार प्रसार समितिसँग प्रत्यक्ष समन्वयमा रहने निर्वाचन प्रचार प्रसार मूल समिति गठन गरिनेछ, जसअन्तर्गत मिडिया तथा सामाजिक सञ्जाल समन्वय उपसमिति रहनेछन्। सामाजिक सञ्जाल टिममा नवयुवालाई अग्रसर गराउने लक्ष्य लिइएको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आचारसंहिता नउल्लंघन हुने गरी अभियानमा सहभागी गराउन स्थानीय तह समन्वय समिति गठन गरिनेछ।
परिपत्रमा बौद्धिक क्षेत्र, सामाजिक संघ–संस्था, धार्मिक संघ–संस्था, निजी क्षेत्र, १८–३० विशेष अभियान, पूर्वआप्रवासी, स्थानीय प्रशासन समन्वय तथा अनुगमन समिति गठन गर्ने व्यवस्था पनि गरिएको छ। यी समितिहरूमार्फत विभिन्न क्षेत्र र समुदायसँग समन्वय गर्दै पार्टीको विजय अभियानलाई व्यापक, समावेशी र प्रभावकारी बनाउने नेपाली कांग्रेसको उद्देश्य रहेको जनाइएको छ।







