लाइसेन्स परीक्षामा अनियमितता भएको आरोपमा कर्मचारी र ट्राफिकको मोबाईल जफत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता भएको आरोपमा यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी तथा निजी संस्थासँग आबद्ध व्यक्तिहरूको मोबाइल फोन जफत गरेको छ।

अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख (नवौं तह) पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीको २५ थान मोबाइल फोन नियन्त्रणमा लिइएको हो।

त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जना ट्राफिक प्रहरीको मोबाइल फोन पनि अख्तियारले जफत गरेको छ।

यसैगरी नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाको ९ थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

अख्तियारले लिखित परीक्षा दिई फेल भएको मितिले तीन महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिकासमेत जफत गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा चाबहिल यातायात कार्यालयका प्रमुखसहित कर्मचारी, ट्राफिक प्रहरी तथा अन्य व्यक्तिहरूको मिलेमतोमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म घुस लिई लाइसेन्सको लिखित परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराउने गरिएको पाइएपछि अख्तियारले मोबाइल जफत गरी अनुसन्धान अघि बढाएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्