काठमाडौं – आज देशका पश्चिमी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसोसम्म गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिने महाशाखाको भनाइ छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएरातिदेखि सुदूरपश्चिमबाट न्यूनचापीय प्रणाली सक्रिय भएको हो र यसको प्रभाव आज बेलुकापछि क्रमशः पूर्वतर्फ सर्नेछ।
यसैबीच भोलि काठमाण्डौ उपत्यकासहित मधेश र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने मौसमको प्रभाव सामान्य मात्र रहने अधिकारीले बताउनुभयो।
यसअघि गएको शुक्रवार र शनिवार पश्चिम नेपालका विभिन्न स्थानमा वर्षासँगै उच्च क्षेत्रमा हिमपात भएको थियो। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार आज र भोलि हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा भए पनि ठूलो झरी पर्ने सम्भावना भने कम रहेको छ।







