काठमाडौं — प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय सकिएपछि पनि नेकपा एमालेले विभिन्न दलसँग चुनावी तालमेलका निर्णय गरिरहेको छ । एमालेले कर्णाली र लुम्बिनीका १३ जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग चुनावी तालमेल गरेको छ ।
आइतबार भएको सहमतिअनुसार रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सहयोग गर्नेछ भने अन्य जिल्लामा प्रलोपाले एमाले उम्मेदवारलाई मत दिनेछ । सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा र प्रलोपा अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।
रुकुम पूर्वमा प्रलोपाका उम्मेदवार सन्दीप पुन र रुकुम पश्चिममा जनार्दन शर्मालाई एमालेले आँखा चुनाव चिन्हमा मतदान गर्ने सहमति भएको छ । यस तालमेलले ती क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।





