काठमाडौं – गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादा कायम राख्दै प्रचलित कानुनअनुसार मात्र प्रयोग गर्न आग्रह गरेको छ । आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले राष्ट्रिय झन्डा राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक भएकाले दुरुपयोग भए कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार निर्वाचन आचारसंहिता, २०८२ ले निर्वाचन प्रचारप्रसारका क्रममा सीमित अवस्थाबाहेक राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । साथै मुलुकी अपराधसंहिता, २०७४ अनुसार राष्ट्रिय झन्डाको अपमान हुने कार्य दण्डनीय छ ।
राष्ट्रिय झन्डाको सम्मानजनक र मर्यादित प्रयोगका लागि ‘राष्ट्रिय झन्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको र सोको पालना गराउन प्रमुख जिल्ला अधिकारीलाई नियमित अनुगमनको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।





