कर्णाली र सुदूरपश्चिममा भारी हिमपात, किसानलाई राहत, जनजीवन प्रभावित

काठमाडौँ – कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा शुक्रबार रातिदेखि लगातार हिमपात भइरहेको छ। हिमपातले हिउँदे बालीलाई राहत पुगेको भए पनि यातायात र जनजीवन प्रभावित बनेको छ।

हुम्ला, मुगु, जुम्ला लगायत कर्णालीका हिमाली जिल्लामा हवाई उडान रद्द भएका छन् भने सिमकोट–हिल्सा, गमगढी–नाग्मा र मध्यपहाडी लोकमार्गका केही खण्डमा यातायात अवरुद्ध भएको छ। सिमकोट विमानस्थलमा एक फिटसम्म हिउँ जमेको जनाइएको छ।

हिमपातपछि खडेरीका कारण सुक्न थालेका गहुँ, जौ र अन्य हिउँदे बालीमा राहत पुगेको किसानले बताएका छन्। रारा क्षेत्र सेताम्मे बनेको छ भने स्याउ खेतीका लागि हिमपात उपयोगी हुने कृषि विज्ञको भनाइ छ।

सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला र बैतडीका उच्च भेगमा पनि वर्षासहित हिमपात भएको छ। हिमपातका कारण चिसो बढेको र दैनिक जनजीवनमा कठिनाइ आएको स्थानीय प्रशासनले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण अझै केही समय हिमपात र वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्