काठमाडौँ । राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत एक पदमा निर्विरोध निर्वाचन भएको छ। सो पदमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्वाचित भएका छन्। बाँकी १७ पदका लागि आज मतदान हुन लागेको हो।
निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल तोकिएको छ। कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र निर्धारण गरिएको छ।
यसैगरी गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा घोराही, कर्णाली प्रदेशमा वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था रहेको आयोगले जनाएको छ।





