छाङरु र तिङ्करका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्ने

खलङ्गा (दार्चुला) – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यास गाउँपालिका–१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गर्दै सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो। भौगोलिक कठिनाइ र मौसमी अवस्थाका कारण ती क्षेत्रका मतदाता हाल सदरमुकाममै बसोबास गरिरहेका छन्।

छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा मतदान केन्द्र रहने मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए। निर्वाचन कार्यालयका अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३ सय ७५ र मोति महिला सङ्घ आधारभूत विद्यालयमा २ सय ४४ मतदाता सूचीकृत छन्। यसअघि पनि स्थानीय तह निर्वाचनमा यिनै मतदाताले आफ्नो क्षेत्रमा मतदान गरेका थिए।

जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएको छ। कुल ९२ हजार ९४८ मतदाता रहेको दार्चुलामा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा तथा व्यवस्थापकीय तयारी तीव्र पारिएको प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्