काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर जनकपुर हुँदै पूर्वका विभिन्न जिल्लामा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्।
शाह शनिबार अपराह्न सुनसरीको इटहरी पुगेका थिए। इटहरीबाट उनी विमानमार्फत काठमाडौं फर्किएको जनाइएको छ। इटहरीमा केहीबेर उनले आफ्ना समर्थकहरूसँग गाडीभित्रैबाट भेटघाट गरेका थिए।
बालेन शाहले गत माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै सोही दिन उनी जनकपुर पुगेका थिए। माघ ५ गते जनकपुरमा आयोजित सभामा सहभागी भएपछि उनी झापा प्रस्थान गरेका थिए।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका शाह त्यसपछि पूर्वका विभिन्न जिल्लामा पुगेका थिए। उनले इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा पुगेर समर्थकहरूसँग भेटघाट तथा संवाद गरेका थिए।
शनिबार बिहान धनकुटा सदरमुकाम पुगेका शाह भने त्यहाँ गाडीबाट नओर्ली पुनः फर्किएका थिए। झापा–५ बाट उम्मेदवारी दिएका शाहले त्यस आसपासका जिल्लामा केन्द्रित भएर चुनावी अभियान सञ्चालन गरिरहेका छन्।





