कांग्रेस प्रतिनिधि सभा सदस्यका लागि दार्चुलाबाट धर्मानन्द जोशीलाई टिकट

 

काठमाडौं – नेपाली कांग्रेसले दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका लागि धर्मानन्द जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय बोर्डले पार्टी संगठन, जिल्लाबाट आएको सिफारिस र समग्र राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै जोशीलाई टिकट दिने टुंगो लगाएको हो।

समाजसेवी तथा अनुभवी अधिवक्ता जोशी दार्चुला कांग्रेसभित्र सुधार र रुपान्तरणको पक्षमा स्पष्ट धारणा राख्दै आएका नेता हुन्। उनले लामो समय संयुक्त राष्ट्रसंघमा मानव अधिकारका क्षेत्रमा काम गरेको अनुभव हासिल गरेका छन्। जोशी समाजसेवीका रूपमा समेत दार्चुलामा परिचित छन्।

यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा सदस्य पदका लागि धर्मानन्द जोशीसहित चार जनाको नाम सिफारिस गरेको थियो। पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले आगामी निर्वाचन नलड्ने घोषणा गरेपछि जिल्ला कार्यसमितिले पुनः उम्मेदवार सिफारिस गरेको थियो।

पार्टीभित्र जारी आन्तरिक विवाद, विशेष महाधिवेशनको बहस र रुपान्तरणको आवश्यकता बीच कांग्रेसले अनुभवी, स्वीकार्य र संगठनमा पकड भएका नेतालाई अघि सारेको नेताहरूको भनाइ छ।

धर्मानन्द जोशीले टिकट पाएसँगै दार्चुला कांग्रेसमा उत्साह थपिएको छ। स्थानीय नेता तथा कार्यकर्ताहरूले जोशीको उम्मेदवारीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचनमा बलियो उपस्थिति जनाउने विश्वास व्यक्त गरेका छन्।

कांग्रेसले दार्चुलामा जित सुनिश्चित गर्न संगठन सुदृढीकरण र चुनावी अभियानलाई तीव्र बनाउने तयारीसमेत गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्