पूर्वमन्त्री प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट चुनाव लड्ने तयारी

काठमाडौं । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन्। उनी गएराति औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए। यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित उनका समर्थक कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन्।

प्रदीप यादव यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए। गत भदौ २३ र २४ गते भएको ‘जेनजी युवा आन्दोलन’पछि उनी ओली नेतृत्वको सरकारबाट बाहिरिएका थिए।

जेनजी आन्दोलनपछि यादवले अशोक राई नेतृत्वको जसपा परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए। पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्यका रूपमा सक्रिय थिए।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादवले जसपा नेपाल पनि त्यागेर एमाले प्रवेश गरेका हुन्। उनी पुनः पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले यादवलाई पर्सा–१ बाट टिकट दिने आश्वासनसमेत दिइसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्