राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि शुरु, बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि शुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा सञ्चालन गरिने भएको छ। अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्नेछ।

अधिवेशनको तयारीका लागि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अस्ति शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको थियो। आजको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको छ। साथै हालै निधन भएका नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा आज बिहान ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको हो। यसअघि गएको भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो।

यसैबीच निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको तयारी पनि तीव्र बनाएको छ। आयोगका अनुसार राष्ट्रियसभा सदस्यतर्फ एक जना निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिनिधिसभा निर्वाचनको तयारी अगाडि बढिरहेको र राष्ट्रियसभामा पनि नयाँ सदस्यहरू निर्वाचित भएर आउने चरणमा रहेको अवस्थामा १९औँ अधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्