निष्क्रिय तथा पार्टी छाडेकालाई पुनः फर्कन कांग्रेसको आह्वान

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका तथा विभिन्न कारणले पार्टी छाडेका नेताकार्यकर्तालाई पुनः कांग्रेसमा फर्कन आह्वान गरेको छ। निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको पार्टीको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए। बैठकका निर्णय सार्वजनिक गर्दै उनले पार्टीमा पुनः एकता र सक्रियता आवश्यक रहेकोमा जोड दिए।

‘पार्टीमा निष्क्रिय रहनुभएका तथा विभिन्न कारणले पार्टी छाड्नुभएका साथीहरूलाई फेरि पनि नेपाली कांग्रेसमा जोडिनका लागि आह्वान गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता चालिसेले भने। त्यसैगरी बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण पंक्तिलाई आह्वान गर्ने निर्णय पनि गरेको छ। देश–विदेशमा रहेका सबै कांग्रेसजन, मतदाता तथा शुभेच्छुकलाई नयाँ ऊर्जा र पुनःएकताका साथ निर्वाचनमा सहभागी हुन अपिल गरिएको उनले बताए।

‘पार्टीका सबै पंक्ति, मतदाता तथा देश–विदेशमा रहेका सम्पूर्ण कांग्रेसजनलाई नयाँ ऊर्जा र पुनःएकताका साथ फागुन २१ को निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन अपिल गर्ने निर्णय गरिएको छ,’ चालिसेले स्पष्ट पारे। बैठकले नेपाली कांग्रेसकै नेतृत्वमा देशलाई अगाडि बढाउने प्रक्रियामा सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्