काठमाडौं – आगामी फेब्रुअरी – मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको शनिबार औपचारिक बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो।
विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने तालिका रहेकाले नेपाली टोलीलाई आजै बिदाइ गरिएको हो। टोली आइतबार प्रस्थान गर्ने क्यानले जनाएको छ। बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि शुभकामना व्यक्त गरे। ‘यो विश्वले पनि हेर्ने मञ्च हो। हामी पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेका छौं,’ उनले भने, ‘विश्वकपका लागि खेलाडीदेखि व्यवस्थापन टिमसम्म सबैलाई शुभकामना छ। भारतमा समर्थकहरूले पनि साथ दिनुहुनेछ भन्ने आशा छ।’
टोलीका कप्तान रोहित पौडेलले तयारी सन्तोषजनक रहेको बताए। ‘तयारी निकै राम्रो भइरहेको छ। अभ्यासबाट पनि राम्रो बिल्डअप भएको महसुस भइरहेको छ,’ उनले भने, ‘सन् २०२५ राम्रो भएको थियो, आशा छ यो वर्ष पनि राम्रो हुनेछ। हामी सम्पूर्ण नेपालीलाई गर्व गराउने प्रयास गर्नेछौं।’
मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि विश्वकपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। ‘अभ्यासमार्फत योजनालाई अन्तिम रूप दिँदैछौं,’ उनले भने, ‘विश्वकपमा राम्रो खेल्दै सबै नेपालीलाई खुसी दिन चाहन्छौं।’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीको तयारी राम्रो देखिएको उल्लेख गर्दै सफल प्रदर्शनको अपेक्षा गरे। ‘तयारी उत्कृष्ट देखिएको छ। भारतको कन्डिसन पनि हामीसँग मिल्छ,’ उनले भने, ‘राम्रो प्रदर्शन गर्नुहोला, शुभकामना छ।’
नेपाली टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ। त्यसअघि टोलीले श्रीलंका ‘ए’ र भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ। रोहित पौडेलको कप्तानीमा विश्वकपका लागि नेपाली टोली यसअघि नै घोषणा भइसकेको छ।






