प्रतिनिधिसभा निर्वाचनअघि नयाँ दल दर्ता नगर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं  – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि नयाँ दल दर्ता नगर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्र भएको निष्कर्षमा पुग्दै आयोगले निर्वाचनको मुखैमा प्रक्रिया अवरुद्ध गर्न नहुने ठहर गरेको हो। नेपाली कांग्रेस दुई खेमाजस्तो देखिए पनि दुवै पक्ष दल विभाजनको औपचारिक प्रक्रियामा प्रवेश नगरेको आयोगको भनाइ छ।

आयोगले कुनै पक्ष वा विपक्षमा निर्णय गरेको नभई विशेष महाधिवेशन विधानसम्मत भएको निष्कर्ष निकालेको स्पष्ट पार्दै त्यसलाई आधार मानेर पार्टी विभाजन भएको अर्थ लगाउन नहुने जनाएको छ। आयोगका अनुसार शुक्रबार गरिएको निर्णयले निर्वाचन प्रक्रियामा कुनै असर नपर्नेछ।

यसअघि नै नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेको र दुई दिनपछि प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया सुरु हुने अवस्थामा नयाँ दल दर्ता गरेर निर्वाचन प्रक्रियामा सहभागी गराउन सम्भव नहुने आयोगको धारणा छ। आयोगका एक उच्चपदस्थ अधिकारीले भने, ‘अब त खेल सुरु भइसकेपछि नयाँ खेलाडी पनि म दौडिन्छु भनेर मैदानमा छिर्न खोजेजस्तो हुने भयो।’

निर्वाचनको निर्धारित कार्यतालिका अनुसार प्रक्रिया अघि बढिसकेकाले यस चरणमा दल दर्ता गर्न नहुने आयोगको निर्णयले निर्वाचन प्रक्रिया यथावत् रूपमा अघि बढ्ने स्पष्ट संकेत दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्