काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् ।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । ती सिफारिसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा आएको बताइएको छ ।
हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नसहितका उम्मेदवार अघि बढाउने तयारी गरेको छ ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिएको थियो । प्रतिनिधिसभा निर्वाचनको मतदान आगामी २१ फागुनमा हुने कार्यतालिका छ ।





