काठमाडौँ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ। आयोगले शुक्रबार थापालाई पार्टी सभापतिको मान्यता दिएको हो। नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए। सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा निर्वाचन आयोग पुगेका थिए।
आयोगले पेश गरिएका सबै कागजात तथा निर्णयको अध्ययन गरेपछि थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिक मान्यता दिएको जनाएको छ। नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानी काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न भएको थियो। उक्त महाधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गर्दै संगठनात्मक विवादको औपचारिक टुंगो लगाएको बताइएको छ।





