काठमाडौँ – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका-३ मा अवस्थित, देशका सात धाममध्ये एकका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन मन्दिरमा आयोजना हुन लागेको शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
महायज्ञ तथा महोत्सवको औपचारिक आमन्त्रणका लागि दार्चुलाको सर्वदलीय तथा सर्वपक्षीय प्रतिनिधिमण्डल राष्ट्रपति निवास शीतल निवास पुगेको हो। प्रतिनिधिमण्डलको नेतृत्व नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले गर्नुभएको थियो।
शीतल निवासमा भएको भेटघाटका क्रममा प्रतिनिधिमण्डलले मालिकार्जुन धामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वबारे राष्ट्रपतिलाई विस्तृत जानकारी गराएको थियो। साथै, शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
प्रतिनिधिमण्डलले महायज्ञको अवसरमा राष्ट्रपतिको प्रमुख आतिथ्यले कार्यक्रमको गरिमा थप उचाइमा पुग्ने र सुदूरपश्चिम क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई देशभर चिनाउन थप सहयोग पुग्ने अपेक्षा राख्दै औपचारिक आमन्त्रण पत्रसमेत हस्तान्तरण गरेको जनाइएको छ।
प्रतिनिधिमण्डलमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेश सिंह ठगुन्ना, नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश सांसद मानबहादुर धामी, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, नेपाली कांग्रेसका नेता जगदिश बहादुर पाल, कांग्रेस नेता तथा आयोजक समितिका सह–संयोजक नरेन्द्र धामी, सह-संयोजक किसनसिंह सामन्तलगायतको सहभागिता रहेको थियो।
प्रतिनिधिमण्डलका सदस्यहरूले मालिकार्जुन धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई सुदूरपश्चिमको पहिचान र गौरवसँग जोडिएको स्थल भएको उल्लेख गर्दै महायज्ञ सफल बनाउन स्थानीय तह, राजनीतिक दल र समुदाय एकजुट भएर अघि बढिरहेको जानकारी गराएका थिए।
शिवपुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै क्षेत्रीय एकता, सामाजिक सद्भाव र धार्मिक पर्यटन विकासमा समेत योगदान पुर्याउने आयोजक समितिको विश्वास रहेको छ।





