कांग्रेसको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमाथि दबाब बढ्दै

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनको तयारी र व्यवस्थापनमा जुटेको निर्वाचन आयोगमाथि नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद छिटो टुंग्याउनुपर्ने दबाब बढ्दै गएको छ ।

पार्टी औपचारिक रूपमा विभाजन भएपछि कांग्रेसका दुवै पक्ष आफू नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापाले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न हिजो आयोगमा निवेदन दिनुभएको छ ।

यसअघि अस्ति बुधवार शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा बुझाएको थियो । विशेष महाधिवेशन पक्षधरले त्यसअघि नै विशेष महाधिवेशन आयोजना गरिएको विवरण र जानकारी आयोगलाई गराइसकेका छन् ।

माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको कार्यतालिका रहेकाले आयोगलाई त्यसअघि नै आधिकारिकता विवाद टुंग्याउनुपर्ने दबाब छ । आयोगले जुन पक्षलाई आधिकारिकता दिन्छ, सोही पक्षले नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ प्रयोग गरी मनोनयन दर्ता गर्न पाउनेछ । समानुपातिकतर्फको मतपत्र छापिसकिएको र चुनावी कार्यक्रम अघि बढिसकेकाले अर्को पक्षले नयाँ पार्टीमार्फत चुनावमा सहभागी हुने सम्भावना न्यून देखिएको छ ।

दुवै पक्षले कानुनी रूपमा आफूहरू नै बलियो रहेको दाबी गर्दै आएका छन् । संस्थापन पक्षले केन्द्रीय कार्यसमितिले वैशाखमा नियमित महाधिवेशन बोलाउने निर्णय गरिसकेको र पार्टीले औपचारिक रूपमा विशेष महाधिवेशन नबोलाएको दाबी गरेको छ ।

त्यस्तै, विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यसमितिभन्दा बहुमत महाधिवेशन प्रतिनिधिको निर्णय सर्वोपरि हुने भएकाले आफूहरूले आधिकारिकता पाउनुपर्ने तर्क प्रस्तुत गरेका छन् । यी आ–आफ्ना दाबीबीच निर्वाचन आयोगले कानुनी परामर्श प्रक्रिया शुरू गरेको जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संस्थापन पक्षलाई साथ दिँदै विशेष महाधिवेशन पक्षधरलाई पार्टी एकतामा फर्किन आह्वान गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्