कांग्रेसभित्र देखिएको विवाद निर्वाचन आयोगसम्म

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद निर्वाचन आयोगसम्म पुगेको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले मंगलबार नै भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको जानकारी गराउँदै निर्वाचन आयोगमा पत्र दर्ता गराएको खुलेको छ।

त्यसैगरी, आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको विषयको पत्र पनि निर्वाचन आयोगमा बुझाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सेतोपाटीसँग भने, ‘विशेष महाधिवेशन भइरहेको भन्ने पत्र हिजै आयोगमा दर्ता भएको छ। आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयको तर्फबाट अर्को पत्र आएको छ। दुबै पत्र हेर्न भने पाइएको छैन।’

हाल नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेको छ। यही क्रममा महाधिवेशन चलिरहेकै बेला बुधबार केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय थापा र शर्मासहित तीन नेतामाथि कारबाही गर्ने निर्णय गरेको हो।

कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगमा पुगेसँगै पार्टीको वैधानिकता, महाधिवेशनको मान्यता र नेतृत्व चयन प्रक्रियाबारे थप अन्योल उत्पन्न भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्