काठमाडौँ – नेपाल व्यापार संघको कार्यसमितिको बैठक मंगलबार काठमाडौँको घुइँचो रेस्टुरेन्टमा सम्पन्न भएको छ। बैठकले माघ २४ गते संघको ३४औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशन गर्ने निर्णय गरेको छ। यस अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिनेछ। वर्तमान अध्यक्ष हरि गौतमले पुनः उम्मेदवारी नदिने घोषणा गरिसक्नु भएकोले नयाँ नेतृत्व चयन हुने छ। यसैगरी अन्य पदाधिकारीहरु पनि चयन हुने छन्। अध्यक्ष हरि गौतमले साधारण सभा र अधिवेशनको तयारीलाई सबैसंग सहमतिपूर्वक अघि बढाउने र सकेसम्म सर्वसम्मत निर्णय निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकले निर्णय गरेको अनुसार आजिवन सदस्यहरू मात्र पदाधिकारी पदमा उम्मेदवारी दिन पाउनेछन्। माघ १४ गतेसम्म आजिवन सदस्यता लिन सकिने समय तोकिएको छ भने माघ १८ गतेसम्म नयाँ सदस्यता तथा नविकरण गर्ने समय निर्धारण गरिएको छ।
साधारण सभा राष्ट्रिय सभा गृहको हलमा विहान ११ बजेबाट सुरु हुनेछ। जसमा एक हजार बढीको सहभागिता रहने भएको छ । अधिवेशनको तयारीका लागि रुवयनाथ कोइरालाको संयोजकत्वमा अधिवक्ता सहितको निर्वाचन समिति गठन गरिएको छ। साथै, प्रचार–प्रसार समिति, अतिथि सत्कार समिति, खाना खाजाका लागि समिति लगायतका समितिहरू पनि गठन गरिएको छ।

बैठकको अध्यक्षता संघका अध्यक्ष हरि गौतमले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव दिपक सापकोटाले गर्नुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष रुवयनाथ कोइराला, प्रथम उपाध्यक्ष गिरिराज पोखरेल, उपाध्यक्ष तेजप्रसाद आचार्य, महिला उपाध्यक्ष पार्वती भट्ट पौडेल, इन्दिरा लामिछाने, गण्डकी प्रदेश उपाध्यक्ष जयकृष्ण शर्मा, सचिव दिपक सापकोटा लगायतका पदाधिकारी उपस्थित थिए।
साधारण सभा तथा अधिवेशनको प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल रहने छन्। यस अधिवेशनले संघको नयाँ नेतृत्व र आगामी योजनाहरू निर्धारण गर्ने महत्वपूर्ण चरणको रूपमा लिइएको छ।








