काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा मुलुकको प्रधानमन्त्री बन्ने गरी अर्का महामन्त्री गगनकुमार थापालाई अघि सार्ने घोषणा गरेका छन्। मंगलबार साँझ जारी विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसको नेतृत्व र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा गगन थापालाई अघि बढाइने बताएका हुन्।
‘कांग्रेस एउटा नवीन ऊर्जा लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ, बलियो नेतृत्व र राम्रो दृष्टिकोण लिएर आउँदैछ,’ शर्माले भने, ‘फागुन २१ गते कांग्रेस पार्टी हार्दिक, लोकतान्त्रिक र स्वस्थ प्रतिस्पर्धा गर्न आउँदैछ र पार्टीको नेतृत्व तथा मुलुकको प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अगाडि लिएर आउँदैछौँ।’
यसैबीच, विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिले मनोनयन दर्ताको समय परिमार्जन गरेको छ। समितिद्वारा जारी सूचनाअनुसार आज साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिनेछ। यसअघि मनोनयन दर्ताको समय दिउँसो २ देखि ३ बजेसम्म तोकिएको थियो।
हाल मनोनयनका लागि उम्मेदवारी फाराम वितरण जारी रहेको निर्वाचन समितिले जनाएको छ।
सोमबार सम्पन्न बन्द सत्रले ध्वनि मतका आधारमा पारित गरेको कार्यविधिअनुसार नयाँ केन्द्रीय समिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। विधानअनुसार एक सभापति, दुई उपसभापति र दुई महामन्त्रीसहित सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको हो।
सहमहामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदायबाट गरी आठ जना चयन हुने व्यवस्था छ। त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
पार्टी विधानअनुसार पदाधिकारीमध्ये कोषाध्यक्ष बाहेक सबै पदमा निर्वाचनमार्फत चयन गरिने व्यवस्था रहेको छ।






