काठमाडौं – नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवाद सहमतितर्फ उन्मुख भएको छ। आज दिनभर चलेको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिनेबारे मोटामोटी सहमति बनेको हो।
महाधिवेशनमा पेस गरिएका प्रतिवेदनहरू संस्थापन समूहले अध्ययन गर्ने र संस्थापन पक्षबाट आएका सुझावहरू प्रतिवेदनमै समावेश गर्ने विषयमा छलफल सकारात्मक दिशामा अघि बढेको ती नेताले बताए।
कांग्रेसको विवाद अन्त्यका लागि त्रिपक्षीय वार्ता समिति गठन गरिएको छ। वार्तामा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन्। त्यस्तै, नेता शेखर कोइरालाको समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी भएका छन्। विशेष महाधिवेशन पक्षको तर्फबाट देवराज चालिसे, मधु आचार्य र प्रदीप पौडेल वार्ता समितिमा छन्।
वार्ता समितिको निरन्तर संवादबाट पार्टीभित्रको विवाद समाधान हुने र विशेष महाधिवेशन सहमतिका साथ अघि बढ्ने अपेक्षा गरिएको छ।






