देउवाको राजीनामामा सहमति नजुट्दा कांग्रेसको त्रिपक्षीय वार्ता स्थगित

 

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति नजुटेपछि स्थगित भएको छ ।

वार्तामा सहभागी एक नेताका अनुसार सभापति देउवाले राजीनामा गर्ने वा सक्रिय राजनीति छोडेको घोषणा गर्ने भन्ने विशेष महाधिवेशन पक्षधरको मागमा सहमति हुन नसक्दा बैठक एक घण्टाका लागि स्थगित गरिएको हो ।

उनले भने, “अरु विषयमा खासै समस्या भएन । तर नेतृत्वले राजीनामा दिने वा राजनीति छोड्ने भन्ने विशेष पक्षको मागमा कुरा मिलेन । यस विषयमा अझै संवाद आवश्यक देखिएकाले छलफल स्थगित गरिएको हो ।”

संवादमा सहभागी नेताहरूले नेतृत्वको राजनीतिक विश्राम वा राजीनामाबारे आफूहरूले मात्र निर्णय गर्न नसक्ने निष्कर्ष निकाल्दै शीर्ष नेताहरूसँग थप छलफल गर्ने निर्णय गरेका छन् । अब देउवाको राजीनामा वा राजनीतिक निष्क्रियताका विषयमा वार्तामा सहभागी नेताहरूले शीर्ष नेतृत्वसँग परामर्श गर्ने भएका छन् ।

वार्तामा विशेष महाधिवेशन पक्ष (गगन–विश्व) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए । सभापति देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए भने शेखर कोइरालाको पक्षबाट सहमहामन्त्री जीवन परियार वार्तामा सहभागी थिए ।

कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि सुरु गरिएको वार्ता निर्णायक मोडमा पुगे पनि नेतृत्वको भूमिकालाई लिएर सहमति नजुट्दा प्रक्रिया अझै लम्बिने संकेत देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्