काठमाडौँ । विभिन्न राजनीतिक दलका समानुपातिक उम्मेदवारमध्ये १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नाम फिर्ता लिनेहरूको ठाउँमा सम्बन्धित दलले नयाँ नाम पठाउने प्रक्रिया अघि बढाइएको छ ।
आयोग स्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७८ जना र जनता समाजवादी पार्टी नेपाल (जसपा) का २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यी दुई दलबीच एकता भइसकेकाले लोसपाबाट परेका उम्मेदवार फिर्ता लिएर जसपाको सूचीमा समावेश गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का ४ जना र राष्ट्र निर्माण दल नेपालका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समान–समान २ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । त्यस्तै गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक पार्टी र संयुक्त नागरिक पार्टीका १–१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले फिर्ता लिएका उम्मेदवारको ठाउँमा आएका नयाँ नाम समेत समावेश गरी माघ ४ गते समानुपातिक उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने जनाएको छ । उक्त सूचीमाथि माघ ५ देखि माघ १० गतेसम्म दाबी–विरोध गर्न सकिनेछ ।
दाबी–विरोधमाथि आयोगले माघ ११ देखि १७ गतेसम्म अध्ययन गर्नेछ भने नाम हटाउनुपर्ने भए माघ १९ गते सूचना प्रकाशन गर्ने कार्यतालिका छ । अन्तिम समानुपातिक उम्मेदवार सूची माघ २० गते सार्वजनिक हुनेछ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फको मनोनयन दर्ता माघ ६ गते तोकिएको छ ।







