कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज बिहानदेखि पुनः सुरु

काठमाडौं – काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुँदैछ। विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको हो।

हिजोसम्म सम्पन्न गर्ने भनिएको विशेष महाधिवेशन विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिँदा निर्धारित समयभन्दा लम्बिएको छ। हिजो बन्दसत्र सुरु भएपछि सांगठनिक, राजनीतिकलगायत विभिन्न प्रतिवेदनहरू पेश गरिएका थिए। ती प्रतिवेदनमा व्यापक छलफल आवश्यक परेकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ।

नेता सुवास पोखरेलका अनुसार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको संख्या आइतबार २ हजार ६ सय ६२ रहेकोमा हिजो ६.२४ प्रतिशतले वृद्धि भएको छ। आजको बन्दसत्रले नेतृत्व चयनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ। साथै, संस्थापन पक्षसँगको छलफल पनि निरन्तर जारी रहेको जनाइएको छ।

यसैबीच, सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताहरूबीच गएराति पनि छलफल भएको नेताहरूले बताएका छन्। उता, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बस्दैछ। बैठकमा पार्टीको पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे छलफल हुने छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिलाई उपस्थित हुन अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्