काठमाडौं – कागेश्वरी मनोहरा–९, गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा आजबाट तीन दिने स्पोर्ट्स मीट सुरु भएको छ। विद्यालयले विद्यार्थीहरूको शारीरिक क्षमता र खेलकुदमा सहभागिता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यो स्पोर्ट्स मीटमा विभिन्न एथलेटिक्सतर्फका खेलहरुका साथै अन्य समुह खेलहरू समावेश छन्।

स्पोर्ट्स मीटका क्रममा विद्यार्थीहरूले एथलेटिक्स प्रतिस्पर्धाहरूमा भाग लिनेछन्। त्यस्तै, कबड्डी, फुटबल लगायत अन्य समुह खेलहरू पनि आयोजना हुने विद्यालयले जनाएको छ।
विद्यालयका संयोजक नरेन्द्र पाण्डेयका अनुसार स्पोर्ट्स मीटको उद्देश्य विद्यार्थीहरूमा सहकार्य, अनुशासन, प्रतिस्पर्धात्मक भावना र टीम वर्क प्रवर्द्धन गर्नु हो। “विद्यार्थीहरूको खेलकुदमा रुचि बढाउने र प्रतिस्पर्धात्मक क्षमतामा सुधार ल्याउने दृष्टिले हामीले यो स्पोर्ट्स मीट आयोजना गरेका हौं,” उहाँले भन्नुभयो।

विजेता विद्यार्थी तथा समूहलाई माघ ९ गतेको सरस्वती पूजाको अवसरमा पुरस्कार वितरण गरिने छ। पुरस्कार अन्तर्गत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। संयोजक पाण्डेयले भन्नुभयो, “प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र समूहको सम्मान गर्न र उनीहरूको उत्साह बढाउन पुरस्कार वितरणको व्यवस्था गरिएको छ।”
विद्यालयको यो स्पोर्ट्स मीटको पुरस्कार वितरण तथा सरस्वती पूजाको दिन शिक्षक, अभिभावक र स्थानीय समुदायको समेत सक्रिय सहभागिता रहनेछ। विद्यालयले विद्यार्थीहरूलाई खेलकुदसँगै अनुशासन, सहकार्य र सामाजिक कौशल विकासको अवसर प्रदान गर्न विशेष योजना बनाएको छ।







