काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री जगदीश खरेलले सरकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ सम्मका लागि स्वीकृत गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो । त्यस्तै, गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुर निवासी गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णयसमेत भएको उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू यस्ता छन् :
– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सदस्य राष्ट्रका रूपमा नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानबापत अमेरिकी डलर २ लाख ८३ हजार ५०३ प्रदान गर्न स्वीकृति दिने ।
– वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने ।
– सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारस्थित महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।
– मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।
– गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने ।
– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।







