काठमाडौं – राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारभित्रै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा क्षति पुगेपछि वैकल्पिक व्यवस्थाका रूपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राख्ने निर्णय गरिएको हो । सोहीअनुसार कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई सभाको बैठकस्थलका रूपमा तयारी गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।
‘काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ,’ प्रवक्ता गिरीले भन्नुभयो, ‘बाँकी काम पनि माघ ४ अगावै सकिन्छ ।’ सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ । यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गरी अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्ने संवैधानिक व्यवस्था अनुसार उक्त सिफारिस गरिएको हो ।
जेनजी आन्दोलनपछि पहिलोपटक राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भई प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसपछि अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुभएको थियो । संघीय संसद् सचिवालयका अनुसार आउँदो अधिवेशनमा छलफलका लागि विभिन्न विधेयक, सरकारले ल्याएका अध्यादेश, संसदीय समितिहरूका अध्ययन प्रतिवेदन तथा वार्षिक प्रतिवेदनहरू रहेका छन् । अधिवेशन सुरु भएपछि सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्तावसमेत दर्ता गर्न सक्नेछन् ।
यसका साथै राष्ट्रिय सभामा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन हुने सचिवालयले जनाएको छ ।






