काठमाडौँ – सरकारले देशका विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको हो। निर्णयअनुसार ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली तथा संखुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गरिनेछ।
सरकारका अनुसार दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो। यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ। उक्त संशोधनले नागरिकता सम्बन्धी प्रक्रिया थप सरल र स्पष्ट हुने अपेक्षा गरिएको छ।
बैठकले हरेक वर्षको पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ दिवस’ का रूपमा मनाउने निर्णयसमेत गरेको छ। च्याउ उत्पादन, व्यवसायीकरण र पोषणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले उक्त दिवस घोषणा गरिएको सरकारको भनाइ छ। सरकारका यी निर्णयले स्थानीय तहसम्म प्रशासनिक पहुँच विस्तार हुनुका साथै कृषि तथा पोषण क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।






