काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय भएका छन्। अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने आजदेखि औपचारिक रूपमा पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका हुन्।
शुक्रबार साँझ उच्च अदालत बुटवलबाट मुक्त भएका लामिछाने चितवन हुँदै शनिबार दिउँसो काठमाडौं आइपुगेका थिए। चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गरेपछि उनी विमानस्थल, शहीद परिवार तथा अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्दै आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। त्यहाँ उनलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो।
पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जेन–जी आन्दोलनका शहीदका माग पूरा गर्नुपर्ने, तोकिएको समयमै निर्वाचन गरिनुपर्ने लगायतका विषयमा धारणा राखे। साथै, विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउनुपर्ने व्यवस्था गर्न आफू र आफ्नो पार्टी निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। सम्बोधनका क्रममा उनले आफूविरुद्ध अन्याय भएको दाबी गर्दै हाल आफ्नो “सास मात्र बाँकी रहेको अवस्था” रहेको टिप्पणी गरे। संसद् पुनःस्थापनासम्बन्धी षड्यन्त्र भइरहेको आरोप लगाउँदै उनले नेकपा एमालेप्रति संकेत गर्दै निर्वाचन बिथोल्ने प्रयास नगर्न चेतावनीसमेत दिए।
लामिछानेले भने, “मैले आफ्नो न्यायका लागि त लड्नु छँदैछ, तर त्योभन्दा पनि सिंगो देशका लागि भएको अन्यायविरुद्ध लड्नु अझ महत्त्वपूर्ण छ। त्यसका लागि मलाई तपाईंहरूको साथ आवश्यक छ।”






