काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दै छन्। जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेयता उनको यो पहिलो औपचारिक भारत भ्रमण हो।
भारत बसाइका क्रममा डा. भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। स्वकीय सचिव रेखी गुरुङद्वारा जारी प्रेस नोटअनुसार डा. भट्टराईले आईआईटी बम्बैमा आयोजित टेक फेस्ट तथा नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन्।
डा. भट्टराई पुस ९ गते नेपाल फर्किने तालिका रहेको छ। स्वकीय सचिवालयले जारी गरेको प्रेस नोटमा यो भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।






