काठमाडौँ — मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ। पदअनुकूलको आचरण नगरेको आरोपमा सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाइएको हो।
सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। नेकपा (एमाले) बाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सातदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।






