काठमाडौं — चार वर्षअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेको महाधिवेशनलाई ‘अधिवेशन’ भन्दै आलोचना गरेका थिए। तर आज त्यो टिप्पणी उल्टै कांग्रेसकै महाधिवेशन सन्दर्भमा सम्झन लायक बनेको छ।
कांग्रेसको चौधौँ महाधिवेशनपछि आयोजित कार्यक्रममा थापाले चितवनमा भएको एमालेको दशौँ महाधिवेशनलाई आलोचना गर्दै कांग्रेसको महाधिवेशनलाई ‘खास अधिवेशन’ भनेका थिए। त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली निर्विरोध अध्यक्ष बन्न खोजेको आरोप लागेको थियो भने कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवा दोस्रो चरणसम्म प्रतिस्पर्धामा उत्रिएका थिए।
चार वर्षपछि एमालेले भने काठमाडौंमा खुला प्रतिस्पर्धासहित ‘खास महाधिवेशन’ सम्पन्न गरेको छ। १९ पदमा प्रतिस्पर्धा भई करिब २२ घण्टा मतदानपछि नेतृत्व चयन भएको छ। ओलीले पनि महाधिवेशनमार्फत आफ्नो नेतृत्व अनुमोदन गराएका छन्।
यता कांग्रेसमा भने पुस २७–२९ का लागि तय महाधिवेशनलाई लिएर अन्योल कायमै छ। ४५ दिनपछि निर्णय भए पनि कार्यतालिका, क्रियाशील सदस्यता विवाद र आन्तरिक तानातानका कारण महाधिवेशन समयमै हुनेमा शंका बढेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार महाधिवेशन समयमै नहुने हो भने कांग्रेसभित्र नेतृत्व र वैधताका प्रश्न अझ जटिल बन्नेछन्। चार वर्षअघि एमालेमाथि गरिएको टिप्पणी आज कांग्रेसकै लागि चुनौती बनेको देखिन्छ।






