फागुन २१ को निर्वाचनका लागि नेपाल प्रहरीको ‘एकीकृत सुरक्षा योजना २०८२’ लागू

काठमाडौं – आउँदो फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको जनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशन तथा निर्णयलाई आत्मसात् गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोगमार्फत निर्वाचन सम्पन्न गर्न प्रहरी दृढ रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन लक्षित गस्तीलाई थप प्रभावकारी बनाउँदै सुरक्षा पहुँचलाई व्यापक बनाइएको छ । हालसम्म लामो दूरीको गस्ती १ हजार १ सय ३६ पटक र सानो दूरीको गस्ती ३ लाख ८९ हजार ९ सय ६० पटक सञ्चालन गरिएको छ । ती गस्तीमा १३ लाख ४६ हजार ३ सय २८ जना सुरक्षाकर्मी परिचालित भएका छन् ।

चुनावका क्रममा हुन सक्ने तोडफोड, आगजनी तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणका लागि प्रहरीले दिनानुदिन गस्तीलाई अझ सशक्त बनाउँदै आएको छ । साथै सूचना सङ्कलन, खतरा मूल्याङ्कन, विश्लेषण तथा सूचनाको प्रवाह प्रणालीलाई समेत प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।

सीमाक्षेत्रमा हुने सम्भावित घुसपैठ तथा आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित अनुगमनसहित प्रहरी परिचालन गरिएको छ । उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचार–प्रसार तथा विजय जुलुसको सुरक्षालाई समेत प्राथमिकतामा राखेर आवश्यक सुरक्षा रणनीति अपनाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

त्यसैगरी आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियारबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्न विशेष टोली गठन गरी परिचालन गरिएको छ । लुटिएका हातहतियारको पहिचान तथा बरामद, फरार कैदीबन्दी तथा थुनुवाको पक्राउ कार्यमा समेत प्रहरी सक्रिय रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्