काठमाडौँ — नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानको समय ३ घण्टा थपिएको छ। निर्वाचन आयोगको बैठकले मतदान केन्द्रभित्र प्रवेश गर्ने समय थप गर्ने निर्णय गरेको हो।
यसअघि मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने समय साँझ ५ बजेसम्म तोकिएको थियो। अब मतदान हलभित्र प्रवेश गर्ने समय राति ८ बजेसम्म कायम गरिएको महासचिवका उम्मेदवार शंकर पोखरेलले जानकारी दिए। उनले प्रतिनिधिहरूलाई कुपन लिएर मतदानको अधिकार सुरक्षित गर्न आग्रह पनि गरेका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म ७५२ मत खसिसकेको छ। बुधबार बिहान करिब १० बजेदेखि मतदान सुरु गरिएको थियो।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार एक जना प्रतिनिधिले मतदान गर्न औसतमा ३० मिनेट समय लिएको छ भने कतिपयले २ घण्टासम्म समय खर्चिएका छन्। मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ। महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन्।
एमालेले मतदान राति १० बजेसम्म सक्ने लक्ष्य राखे पनि हालको गतिमा तोकिएको समयमै मतदान सम्पन्न हुनेमा शंका देखिएको छ।
महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन्। पदाधिकारीतर्फ अध्यक्ष (१) पदमा २, उपाध्यक्ष (५) पदमा ११, महासचिव (१) पदमा २, उपमहासचिव (३) पदमा ७ र सचिव (९) पदमा २० जनाले उम्मेदवारी दिएका छन्।






