काठमाडौँ । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले हार व्यहोरेको हो।
यूएईको दुबईस्थित द सेभेन्स स्टेडियममा भएको खेलमा नेपालले दिएको १ सय २५ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। अफगानिस्तानका उजैरुल्लाह नियाजाईले ६१ रनको अविजित इनिङ खेले। नेपालका अभिषेक तिवारीले २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ४६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २४ रनमै सीमित भयो। नेपालका दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए भने चन्दन रामले २७ र अभिषेक तिवारीले २० रन जोडे। अफगानिस्तानका जैतुल्लाह शाहीनले ३ विकेट लिए।
नेपाल र अफगानिस्तान दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका थिए। नेपाल समूह चरणको पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले र दोस्रो खेलमा बङ्गलादेशसँग ७ विकेटले पराजित भएको थियो।
आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन्। एसीसी १९ वर्षमुनिको एशिया कपको फाइनल खेल आउँदो सोमवार पुस ६ गते हुने तय भएको छ।






