काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्।
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको जेन–जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गरिन्। उनले सुशासन र निर्वाचन आफ्ना मुख्य एजेन्डा रहेको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमै सम्पन्न गर्ने अठोटका साथ सरकार अहोरात्र खटेर तयारीका काममा जुटिरहेको जानकारी दिइन्। उनले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरिन्।
समाजमा कुनै पनि प्रकारको अराजकताले स्थान पाउन नहुने बताउँदै प्रधानमन्त्री कार्कीले शान्ति खल्बल्याउने तथा कानुन हातमा लिने खालका अराजक र आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उल्लेख गरिन्।
‘खराब तत्वको प्रतिरोध गर्न समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘आउनुहोस्, यस कार्यमा हामी सबैले हातेमालो गरौँ।’







