काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहानदेखि मात्रै मतदान सुरु हुने भएको छ। हिजो बेलुकादेखि नै सुरु हुने भनिएको मतदान प्राविधिक कारणले स्थगित गरिएको थियो।
पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहान ८ बजेपछि सुरु गर्ने तयारी गरिएको छ। यसअघि हिजो बेलुका मतदान हुने जानकारी पाएपछि प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा समेत बसेका थिए। तर विद्युतीय भोटिङ मेसिनमा समस्या देखिएपछि मतदान स्थगित गर्नुपरेको उहाँले बताउनुभयो।
उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर तथा क्लस्टरमा तलमाथि परिवर्तन गर्न समय लागेकाले मतदान प्रक्रिया सुरु गर्न ढिलाइ भएको आयोगले जनाएको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ।
तीन सय एक सदस्यीय नयाँ कार्यसमिति चयनका लागि झन्डै ६ सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन्। महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन्।
नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। दुवै नेताले आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।






