प्रकाश भट्ट, कञ्चनपुर – भीमदत्त नगरपालिकाको महाकाली नदी तटीय क्षेत्रका विभिन्न वडामा क्रियाशील सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ९, १०, ११, १२, १३ र १४ मा गठित सामुदायिक विपद् व्यवस्थापन समितिहरूको सहभागितामा बैठक सम्पन्न गरिएको हो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसिएद्वारा आयोजित उक्त कार्यक्रम भीमदत्त नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो। बैठकमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा भएका गतिविधि, चुनौती र सिकाइका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले समुदायस्तरमा विपद् व्यवस्थापन समितिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तहसँगको सहकार्यले विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन सकिने बताए।

सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले परियोजनाअन्तर्गत गरिएका गतिविधि र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै समुदायको सक्रिय सहभागिताले विपद् प्रतिकार्य क्षमता वृद्धि हुँदै गएको बताए।
भीमदत्त नगरपालिका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले नगरपालिकाले विपद् व्यवस्थापनका लागि समुदायसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
बैठकमा सामुदायिक विपद् व्यवस्थापन समितिहरूले आ–आफ्नो प्रस्तुतीकरण गर्दै अनुभव तथा सिकाइहरू साझा गरेका थिए। साथै समितिहरूलाई आवश्यक सुरक्षात्मक ज्याकेट वितरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) की सामाजिक परिचालिका अनिता लावडले गरेकी थिइन्।






