काठमाडौं – आठौँ नेक्सस् कप २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमी र लाइसियम प्याराडाइज एकेडेमीबीच फाइनल खेल सम्पन्न भएको हो। फाइनल खेलमा नेक्सस् इन्टरनेशनल एकेडेमीले लाइसियम प्याराडाइज एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। लाइसियम प्याराडाइज एकेडेमी फस्ट रनर–अप बनेको छ।
मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न समापन समारोहको अध्यक्षता प्याब्सनका महासचिव तथा आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल आरबी कटवालले गर्नुभएको थियो भने प्याब्सनका पूर्व अध्यक्ष तथा सल्लाहकार डीके ढुंगाना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
समारोहमा विजेता टोली नेक्सस् इन्टरनेशनल एकेडेमीले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने द्वितीय भएको लाइसियम प्याराडाइज एकेडेमीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

कार्यक्रममा बोल्दै आयोजक विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“पढाइसँगै खेलकुदलाई प्राथमिकतामा राखेर अनुशासन, नेतृत्व र प्रतिस्पर्धाको भावना विकास गर्नु हाम्रो लक्ष्य हो। नेक्सस् कप त्यसैको एउटा निरन्तर प्रयास हो।”
प्रमुख अतिथि डीके ढुंगानाले विद्यालयस्तरबाटै खेलकुदको विकास हुनु सकारात्मक संकेत भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास बढाउँछ र भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्न मद्दत पुर्याउँछ। आयोजक विद्यालयको प्रयास प्रशंसनीय छ।”
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र फेयरप्ले टिमलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै रेफ्री तथा निर्णायकहरूलाई पनि मायाको चिनोद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।
आठौँ नेक्सस् कपले विद्यालयस्तरको फुटबल विकासमा महत्वपूर्ण योगदान दिएको सहभागीहरूले बताएका छन्।








