नेरीक एकेडेमीमा विभिन्न जातजातीहरुको विविध परिकारहरूको आकर्षक प्रदर्शनी

काठमाडौँ – शंखमुलमा रहेको नेरीक एकेडेमीमा आयोजित ‘खानाका परिकार प्रदर्शनी’ आज विविध सांस्कृतिक स्वाद र परम्परागत पहिचानको झल्को दिँदै भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले नेपालका विभिन्न समुदायका परम्परागत परिकारहरू प्रदर्शन गरेका थिए, जसमा नेवारी, तराई, बाह्मण-क्षेत्री, तथा जनजाति समुदायका परिकारहरूको छुट्टाछुट्टै स्टल राखिएको थियो।

विद्यार्थीहरूले परिकारहरूको इतिहास, पोषणीय विशेषता, बनाउने तरिका तथा सांस्कृतिक महत्व बारे विस्तृत रूपमा व्याख्या गर्दै अभिभावक, शिक्षक तथा आगन्तुकहरूलाई अवलोकन गराएका थिए। नेवारी स्टलमा योमरी, चटामरी, बार, तराई स्टलमा घुग्नी, ठेकुवा, पुआ, बाह्मण–क्षेत्री स्टलमा ढिँडो, गुँद्रुक–खीर, सेल रोटी, अचार  र जनजाति स्टलमा ढेसिङ, सुकुटी, फापरका परिकार प्रमुख आकर्षण बने।

प्रदर्शनी सफल भएकोमा खुसी व्यक्त गर्दै प्रिन्सिपल मिलन केसीले भन्नुभयो, “विद्यार्थीहरूले आफ्नै संस्कृतिको गहिरो जानकारी लिएर परम्परागत खानालाई प्रस्तुत गर्ने क्षमता देखाए। यस्ता कार्यक्रमहरूले सिकाइलाई कक्षाभित्र मात्र सीमित नराखी व्यावहारिक रूपमा विकास गर्न मद्दत गर्छ। सांस्कृतिक विविधता बुझ्न र एकअर्काको पहिचानको सम्मान गर्न यस्ता गतिविधि अत्यन्त प्रभावकारी हुन्छन्।”

कार्यक्रमका निर्देशक डा. मन खत्रीले प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनात्मकता र अनुसन्धान क्षमतामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “नेपाली समाज विविध संस्कृतिले भरिएको छ। परिकारमार्फत देखिने यो सांस्कृतिक धरोहरलाई विद्यार्थीहरूले बुझेर प्रस्तुत गर्नु गर्वको विषय हो। यसले उनीहरूमा सांस्कृतिक पहिचानप्रतिको चेतना बढाउने मात्र होइन, अनुसन्धान र प्रस्तुतीकरण क्षमतामा पनि गुणात्मक वृद्धि गर्छ।”

विद्यार्थीहरूको सृजनात्मकता, परम्पराप्रतिको प्रतिबद्धता र सांस्कृतिक विविधताको सुन्दर झल्को प्रस्तुत गरिएको यस प्रदर्शनीलाई अभिभावक तथा समुदायले उच्च प्रशंसा गरेको विद्यालयले जनाएको छ। यस्ता परिकार प्रदर्शनी कार्यक्रमहरूले विद्यार्थीहरूलाई सांस्कृतिक पहिचान, परम्परा र विविधताको वास्तविक अनुभव दिलाउने महत्वपूर्ण भूमिका खेल्छन्। पुस्तकमा पढिएको ज्ञानलाई व्यवहारिक रूपमा प्रस्तुत गर्दा सिकाइ दिगो र अर्थपूर्ण बन्छ। विभिन्न समुदायका खानाले नेपालका भौगोलिक, सांस्कृतिक तथा सामाजिक विविधताको गहिरो बुझाइ प्रदान गर्छ, जसले विद्यार्थीमा परस्पर सम्मान, सहअस्तित्व र सामुदायिक एकता बढाउन मद्दत गर्छ। साथै, परिकार तयार पार्ने, व्याख्या गर्ने र स्टल व्यवस्थापन गर्ने गतिविधिले विद्यार्थीहरूको सृजनात्मकता, नेतृत्व क्षमता, संचार कौशल र अनुसन्धानशीलता अभिवृद्धि गर्छ। विद्यालय, अभिभावक र समुदायबीच सम्बन्ध सुदृढ बनाउने यस्ता कार्यक्रमहरू समग्र शैक्षिक विकासका लागि अत्यन्त मूल्यवान् मानिन्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्