काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा शानदार प्रदर्शन गरेको लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ। आज सम्पन्न खेलमा लुम्बिनीले काठमाण्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीका डी आर्सी सर्टले ३३ रन, सन्दीप जोराले २३ रन र कप्तान रोहितकुमार पौडेलले १८ रन जोड्दै जितमा महत्वपूर्ण भूमिका खेले। काठमाण्डुका सन्तोष यादवले २ विकेट लिए भने सन्नी पटेल, शाहब आलम र राशिद खानले प्रत्येकी १–१ विकेट हात पारे।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९ ओभर १ बलमै १११ रनमा अलआउट भएको थियो। टीमका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए।
अब इलिमिनेटर जितेपछि लुम्बिनी लायन्सले भोलि दिउँसो ४ बजे दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्दै फाइनल प्रवेशका लागि भिड्नेछ। पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
आठ टोली सहभागी लिगमा काठमाण्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका थिए। यसअघि हिजो सम्पन्न पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरिसकेको छ। एनपीएलको दोस्रो संस्करणको फाइनल आगामी शनिवार हुने तय भएको छ।






