काठमाडौँ — एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बयान दिनुपर्ने बताएका छन्। बुधबार ११औं महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्याशीसमेत रहेका पोखरेलले सरकारले गठन गरेको आयोगमा बयान दिनु स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे। उनले आफू भए पहिले नै गएर बयान दिने भन्दै निष्पक्षताप्रति शंका भए पनि अध्यक्ष ओली बयानमा जाने स्पष्ट गरे।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी बयानमा ल्याउने योजना बनाइरहेको छ। ५ असोजमा गठन गरिएको आयोगको म्याद ५ पुसमा सकिँदैछ तर करिब दुई सातामात्र बाँकी रहँदा आयोगले प्रमुख राजनीतिक व्यक्तिहरूको बयान लिन सकेको छैन।
आयोगले हालसम्म फिल्डमा खटिएका सुरक्षाकर्मी तथा आदेश कार्यान्वयन तहका अधिकारीसहित करिब डेढ सय जनासँग बयान सकिसकेको बताइएको छ। अब आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका तत्कालीन आईजीपी दानबहादुर कार्कीको बयान लिन बाँकी छ। २४ भदौको बिहान कार्की उपत्यका प्रहरी प्रमुखमा सरुवा भएका थिए।






